सरकार आफैंले लगानी गरेर भएपनि विश्वकप निशुल्क देखाउनु पर्थ्यो : सीईओ ढकाल

कतारमा विश्वकप फुटबल चलिरहेको छ। विश्वकप जहाँ भए पनि विश्वका हरेक कुनामा रहेकाहरु यस बारे चासो राख्ने र खेलहरु प्रत्यक्ष हेर्ने गर्दछन् । विश्वकपको अवसर पारेर बिजपाटी डटकमले ‘बिजपाटीसँग विश्वकपका कुरा’ नामक स्तम्भ सुरु गरेको छ।

‘बिजपाटीसँग विश्वकपका कुरा’ स्तम्भमा प्रस्तुत छ विकास बैंकहरुको सीइओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका पूर्वअध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालसँगको कुरा।

बैङ्किङ्ग क्षेत्रमा झन्डै तीन दशक विताएका सफल बैंकरको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका ढकाल अरु क्षेत्रका व्यक्तिहरुलाई झैं आफुलाई पनि विश्वकप फुटबलले आकर्षण गर्ने बताउँछन्। यद्दपि मङ्सिर ४ देखि विश्वकप सुरु भएपनि कामको व्यस्तताका कारण मङ्सिर ८ देखिका खेलहरु मात्र आफुले हेर्न पाउने बताउँछन्।

फुटबलमा सँधै स्पेनको टिम आफुलाई मनपर्ने बताएका ढकालले यस पटक कतारमा जारी विश्वकपमा पनि स्पेनलाई नै समर्थन गरेका छन्। नियन्त्रित तर तिब्रगतिमा खेल्ने र टिमका खेलाडीहरुबिचको समझदारी लोभलाग्दो भएकाले स्पेनको टिम आफुलाई औधि मनपर्ने उनको भनाई छ।

मनपर्ने टिम स्पेन भएपनि उनलाई मन पर्ने खेलाडी भने ब्राजिलका क्याप्टेन टियागो सिल्भा हुन् ।
सुरुसुरुका खेलहरु समय मिलाएर घरमै हेर्ने योजना भएपनि सेमीफाइनल तथा फाइनल खेल साथीभाईहरुसँग सँगै हेर्ने योजना उनको छ ।

फुटबल भन्ने बित्तिकै टिम वर्क र टिम कोर्डीनेशन भन्ने कुरा दिमागमा आउने उनी बताउछन् । उनी भन्छन्, “फुटबलले साझा लक्ष्य प्राप्तिका लागि एकताबद्द भएर अगाडी बढ्न सिकाउने भएकाले फुटबल भन्ने बित्तिकै टिमवर्क भन्ने कुरा याद आउँछ।”

अहिलेसम्म विश्वकप सित्तैमा हेरिएको हुँदा अहिले पैसा तिर्नुपर्दा केहि फरक महसुस भएपनि यस प्रकारको खेललाई सकेसम्म सरकार आफैंले लगानी गरेर आफ्ना जनतालाई निशुल्क हेर्न पाउने सुविधा दिएको भए हुने उनको विचार छ। “निजि क्षेत्रले फुटबल देखाउन पाउने आधिकारिकता लिएपछि त्यहाँ स्वत व्यवसाय जोडिने भएकाले विश्वकप फुटबल जस्तो खेलमा सरकार आफैले लगानी गरेर सबै जनताको पहुँचमा पुग्ने बनाइदिएको भए हुन्थ्यो” ढकाल भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *