मेरो मन पर्ने टीम अर्जेन्टिना हो, साउदीले २ गोल हान्दा नमिठो लाग्यो: प्रदीप ज्ञवाली

मध्यपूर्वमा रहेको कतारमा विश्वकप फुटबल चलिरहेको छ । विश्वकप जहाँ भए पनि विश्वका हरेक कुनामा रहेकाहरु यसबारे चासो राख्ने र खेलहरु प्रत्यक्ष हेर्ने गर्दछन् । विश्वकपको अवसर पारेर बिजपाटी डटकमले ‘बिजपाटीसँग विश्वकपका कुरा’ नामक स्तम्भ सुरु गरेको छ ।

‘बिजपाटीसँग विश्वकपका कुरा’ स्तम्भमा प्रस्तुत छ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँगको कुरा ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली राजनीतिमा शालीन र भद्र नेता भनेर चिनिन्छन् । राजनीतिमा मात्र होइन, उनको रुची खेलप्रति अझ विशेष गरेर फूटबलमा बढी छ । ज्ञवालीले सम्भव भएसम्म विश्वकपका सबै खेलहरू हेर्ने बताए ।

उनको मनपर्ने टीम अर्जेन्टिना हो । उनी भन्छन् ‘ विश्वकप मैले सन् १९९६ देखि हेर्न शुरू गरेको हुँ । त्यसअघि रेडियोबाट पनि सुन्ने र अपडेट लिइरहने गर्थें मैले । फूटबलप्रतिको मेरो चासो म युवा हुँदादेखिकै हो । प्रायः फूटबल खेल म हेर्ने गर्छु ।
विश्वकप सबैभन्दा ठूलो खेल आयोजना पनि हो । धेरै वर्षपछि आउने एउटा महोत्सव जस्तै हो । अहिले अर्जेन्टिना र साउदी अरबबीच भएको खेलमा अर्जेन्टिनाले २ गोल खायो । चुनावी दौडधुप भएकाले मैले त्यो खेल हेर्न पाइन । तर थाहा पाउँदा नमिठो लाग्यो । लगातार ३३/३४ खेलसम्म अनबिटन थियो अर्जेन्टिना । ‘


कतारको विश्वकप र नेपालको चुनाव
खेल र राजनीतिमा पनि पुरानो पुस्ता विदा हुँदै जान्छ, नयाँले त्यसको ठाउँ लिन्छन् । निरपेक्ष रूपले नयाँले एकदमै राम्रो गरिहाल्छन् र पुराना खराब हुन् भन्ने पनि होइन । पुरानो र नयाँको सन्तुलन मिलाएरै राजनीति र खेल दुवैमा सफलता हासिल गर्न सकिन्छ ।
१७/१८ वर्षका युवाहरूले पनि राम्रो खेलिरहेका छन् भने, मेस्सी रोनाल्डोहरू ३४/३५ वर्षका भएर पनि राम्रो खेलिरहेका छन् । उमेरले सबै कुरा परिवर्तन गरिहाल्छ भन्ने म मान्दिन । सोचको कुरा हुन्छ, टीमको कुरा हुन्छ ।


विश्वकप हेर्न नेपालीले पैसा तिर्नुपर्ने व्यवस्था किन ?
खेल अब खेलमात्र रहेन । त्यो आफैंमा ठूलो बिजनेश भएको छ । त्यसका विज्ञापनदाताहरू जसले लगानी गर्छन्, उनीहरूको एक किसिमको मोनोपोली जस्तो पनि छ । त्यसले गर्दा दर्शकलाई अलिकति मर्का पनि परेको जस्तो देखिएको छ । त्यसलाई पुनः नीतिनिर्माण तहबाटै रिभ्यू गर्नुपर्ने हुनसक्छ ।

खेल, संगीत, मनोरन्जन आजकल व्यवसायीक हुँदै गएका छन् । नेपाल जस्तो देशले म्यानेज गर्न सकेको भए हुन्थ्यो जस्तो लाग्छ । ठूलो कुरा पनि थिएन । प्रसारणको अधिकार कसले खरिद गरेको छ, त्यो मलाई थाहा छैन । सरकारले म्यानेज गर्न सक्थ्यो ।


विश्वकपसँग जोडिएको रोचक कुरा
२००२ को वर्ल्डकपमा अर्जेन्टिनाका ग्याब्रियल ओमर बाटिस्टुटा चर्चित खेलाडी थिए । त्यतिएबेला अर्जेन्टिनाले खेल क्वालिफाइड राउण्डमै हार्यो । त्यतिबेला अर्जेन्टिना ठूलो आर्थिक संकटबाट गुज्रिएको थियो ।
खेलाडी बाटिस्टुटाले खेल हारेपछि रुँदै भनेका थिए, ‘मैले यो खेल जिताउन सकेको भए संकटग्रस्त मुलुकलाई थोरै भए पनि राहत हुन्थ्यो ।’ मलाई उनले यसो भनेपछि साह्रै नमज्जा लाग्यो । अहिले पनि उनले त्यतिबेला भनेको सम्झिरहन्छु ।


नेपालको फूटबल क्षेत्रको विकास
नेपालको फूटबल क्षेत्रको विकासमा सबैभन्दा ठूलो कुरा लगानी हो । एकदमै लगानी कम छ यहाँ । साउथ एसियन गेम खेलाउन पनि हामीसँग पूर्वाधार छैनन् । स्टेडियम छैनन् ।
तीन कुरामा लगानी गर्नुपर्छ – पहिलो पूर्वाधार निर्माण । त्यसपछि हामीले लगातार लीगहरू खेलाइरहनुपर्छ । खेलाडीहरूले खेलिरहन पाउनुपर्छ, नयाँ प्रतिभाको खोजी र उनीहरूलाई ग्रुमिङ गरिरहनुपर्छ ।
हामीले फूटबल सिकाउने एकेडेमीहरू खोल्नुपर्छ । अहिले त हाम्रो लक्ष्य साउथ एसियन च्याम्पियन बन्नु छ । त्यो भन्दा माथि उठेर एसियन तहमा जानुपर्छ । त्यसका लागि मुख्य हामीले लगानी गर्न सक्नुपर्छ ।
खेलकुदसँग जोडिएका संघसंस्थाहरू राजनीतिक प्रभावबाट बाहिर राख्न सक्नुपर्छ । युरोपियनहरू, ल्याटिन अमेरिकनहरू कम्तीमा १०/११ महिना लीग चलाइरहेका छन् । उनीहरूकै शैलीमा जाने हो भने केही वर्षमा नेपालले पनि फूटबलमा उल्लेख्य विकास गर्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *