‘ब्राजिल, फ्रान्स, स्पेनहरु नै सेमिफाइनलमा पुग्ने हुन् भन्ने लाग्छ’ : राजेन्द्र मल्ल

हरेक चार चार वर्षमा आयोजना हुने विश्वकप फुटबल सुरु भईसकेको छ । विश्वकप फुटबलले खेलाडी मात्रै नभई उद्योगी व्यवसायीलाई पनि खुब छुन्छ । अझ, युवा उमेरमा फुटकल खेल्दै हुर्किएकाहरुलाई त झन आफ्नो बाल्यकालका स्मृतिहरु ताजा पनि बनाइदिन्छ ।

फुटबल हेर्दै औद्योगिक व्यवसायिक क्षेत्रमा जमेका राजेन्द्र मल्ल अहिले नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष छन् । उनी मंसिर ४ अर्थात् नोभेम्बर २० बाट कतारमा सुरु भएको विश्वकप फुटबल परिवार र आफन्तसँग बसेर हेर्ने गरेका छन् ।

उनी सुरुमै आफ्नो समर्थन यहीँ देशलाई हो भनेर भन्दैनन् । तर, खेल हेर्दै गएपछि जुन देशका खेलाडीको खेल कौशल गजब लाग्छ, सोही देशको समर्थन गर्छन् ।

‘सुरुमा कुनै टिमको समर्थन गर्दिनँ, हेर्दै गएपछि खेल राम्रो लागेको देशको समर्थनमा हेर्ने गरेको छु’ मल्ल भन्छन्, ‘प्रायः ब्राजिल र फ्रान्सको खेल मलाई मन पर्छ । युरोपमा स्पेन राम्रो छ, उसको टिम सशक्त लाग्छ । तर, सधैँ यी देशले मात्रै सफलता पाएर हुँदैन, नयाँ देशले पनि सफलता पाउन सक्छन्, पाउनु पनि पर्छ ।’

तर, उनी स्वयम् सेमिफाइनलपछि दक्षिण अमेरिका र युरोपकै देशहरुबीच प्रतिस्पर्धा हुने देख्छन् ।

‘ब्राजिल, फ्रान्स, स्पेनहरु नै सेमिफाइनलमा पुग्ने हुन् भन्ने लाग्छ’ उनी थप्छन् ।

सँगै, यसपाली नेपालमा पहिलोपटक ‘एक्स्ट्रा’ शुल्क तिरेर विश्वकप हेर्नुपर्ने भएको छ । यस विषयलाई अध्यक्ष मल्ल व्यवसायिक उचाईको रुपमा लिन्छन् । हरेक क्षेत्र व्यवसायिकरण हुँदै गएको अवस्थामा नेपालमा अब फुटबल तथा अन्य खेलहरु केवल मनोरन्जन मात्रै नभई व्यवसायिक पनि हुनुपर्छ भन्ने मान्यता स्थापित भएको र यसले आगामी दिनमा खेल पर्यटनलाई सघाउ पुग्ने उनको विश्वास छ ।

‘सर्टेन पैसा तिर्ने हो, यहीँ बसेर हेर्ने हो’ उनले थपे, ‘हरेक क्षेत्र व्यवसायिकरण हुँदै जानुपर्छ, नोमिनल (न्यूनतम्) पैसा तिरेर परिवारका सबै सदस्य बसेर खेल हेर्ने कुरा राम्रो हो ।’

सँगै, फुटबल खेलले विश्वलाई नै साथित्वको भावमा जोड्न महत्वपूर्ण भूमीका निर्वाह गर्ने भएकाले यसको व्यवसायिक उपयोगिता पनि उत्तिकै आवश्यक रहेको उनको भनाई छ । अध्यक्ष मल्लले यसले खेल पर्यटन बढाउने र सँगै खेलमा सहभागी देश र आयोजक देशको भव्य प्रचार हुने हुँदा यसले विश्वको अर्थतन्त्रलाई नै चलायमान बनाउने हुँदा फुटबल खेल विशेष रहेको बताए ।

‘आयोजक राष्ट्रको टुरिजम प्रोमोट हुन्छ, यसले सहभागी देशहरुको पनि अन्तराष्ट्रिय स्तरमा अत्यन्तै ठूलो प्रचार हुन्छ, विश्वकप फुटबलले आयोजक राष्ट्रसहित विश्वकै अर्थतन्त्र चलायमान बनाउँछ, आयोजक देशको आर्थिक वृद्धिमा पनि सघाउँछ’ अध्यक्ष मल्ल भन्छन्, ‘यसकारण विश्वकप फुटबलको विशेष महत्व देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *