‘२००२ को रेकर्ड तोडियोस्, एसियाको टिमले विश्वकप जितोस् भन्ने लाग्छ’: पारसमणि ढकाल

कतारमा विश्वकप फुटबल चलिरहेको छ। विश्वकप जहाँ भए पनि विश्वका हरेक कुनामा रहेकाहरु यस बारे चासो राख्ने र खेलहरु प्रत्यक्ष हेर्ने गर्दछन् । विश्वकपको अवसर पारेर बिजपाटी डटकमले ‘बिजपाटीसँग विश्वकपका कुरा’ नामक स्तम्भ सुरु गरेको छ।

‘बिजपाटीसँग विश्वकपका कुरा’ स्तम्भमा प्रस्तुत छ ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालसँगको कुरा ।

मर्चेन्ट बैंकर्स व्यवसायमा लामो समय व्यतित गरि आफ्नो छुट्टै पहिचान बनाएका ढकाल अरु क्षेत्रका व्यक्तिहरुलाई झैं आफुलाई पनि विश्वकप फुटबलले आकर्षण गर्ने बताउँछन्। उनले रातको १२:४५ बजे सुरु हुने खेल धेरै ढिलो भएकै कारण हेर्ने नगरेको भएपनि अन्य खेल भने सकेसम्म हेर्न छुटाएका छैनन् ।

उनको समर्थन यस पटक पनि एसियाको टिमलाई रहेको छ । नेपाल नखेलेसम्म आफ्नो पहिलो समर्थन एसियाकै देश रहने उनको भनाई छ । सन् २००२ को विश्वकपमा एसियाली टिम साउथ कोरिया सेमिफाइनलसम्म पुगेको थियो, यस पटक त्यो रेकर्ड तोडिएर एसियाको टिम फाइनल पुगेर फाइनल नै जितोस् भन्ने चाहना रहेको उनी बताउछन् ।

यदि एसियाको टिम अगाडी पुग्न नसके उनको समर्थन नेदरल्याण्डलाई रहेको छ। उनको मन पर्ने खेलाडी रोनाल्डो रहेका छन् । तर क्लब फुटबल हेर्न छोडेको धेरै समय भएकोले अहिले कतिपय खेलाडी पनि नचिनिने भएकोले पुरानै खेलाडी मन परेको उनको भनाई छ ।

धेरै वर्ष अगाडी आफु जर्मनीको ‘एन्टी’मा रहेको र जर्मनीले विश्वकप जितेपछि २ वटा विश्वकपमा जर्मनीको खेल नै हेर्न छोडिदिएको उनी स्मरण गर्छन्। उनी भन्छन् ‘ ठ्याक्कै वर्ष याद भएन, त्यो वर्ष म जर्मनीको ‘एन्टी’ मा थिए, तर विश्वकप नै जर्मनीले जित्यो, अनि त्यसपछिका २ वटा विश्वकपमा जर्मनीको कुनै पनि खेल नै हेरिन’ । यद्यपि अहिले भने समय मिलेसम्म सबै खेलहरु हेर्ने गरेको उनी बताउछन् ।

यसपटक पैसा तिरेर विश्वकप हेर्ने ब्यबस्था गरिएको छ । खेल क्षेत्रमा पनि निजि क्षेत्र आएर व्यवसायीक हुनु राम्रो भए पनि सेवा प्रदायकले आफ्नो लागतमा थोरै रिजनेबल मार्जिन मात्र राखेर पैसा लिनु पर्ने उनी बताउछन् । उनी भन्छन् ‘ अहिले के कति लागत हो, प्रष्ट थाहा छैन, तर लागत उठ्ने गरि र त्यसमा रिजनेबल मार्जिन मात्र राखेर दर्शकसँग पैसा लिनु पर्छ, दर्शकलाई पनि मार पर्नु हुदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *