म अर्जेन्टिनाको पक्षमा कहिल्यै पनि हुन्न, अर्जेन्टिनाको नेपालप्रतिको नजर मन पर्दैन: ध्रुब थापा

सन् २०२२ को विश्वकप फुटबल नोभेम्बर २० अर्थात् मंसिर ४ बाट सुरु भईसकेको छ। नेपालका औद्योगिक र व्यवसायिक क्षेत्रका व्यक्तिहरु पनि विश्व फुटबलको कुम्भ मेलामा रमाउँदै छन् । कोही पहिल्यै कुनै देशको समर्थन गरेर हेर्न बस्ने सोचमा छन् भने कोही खेल कौशलको आधारमा आफ्नो समर्थन देश पहिल्याउने दाउमा छन् ।

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाका लागि फुटबल सानैदेखि प्यारो लाग्ने खेल हो । त्यसैले विश्वकप फुटबल प्रतियोगीता थाहा पाएदेखि उनले हेर्न छुटाएका छैनन् ।

उनले ठ्याक्कै यो देशकै समर्थक हुँ भनेर फुटबल हेर्दैनन् । तर, नेपालले आजसम्म विश्वकप फुटबल खेल्न नसकेकाले आफ्नो देश नपुगेपछि कम्तीमा एशियाका देशहरुले ट्रफी पाइदियो हुन्थ्यो भन्ने उनलाई लाग्छ ।

‘आफ्नो नभएपछि नजिकको भन्ने सबैलाई हुन्छ, म पनि एशियन देशहरुले जितिदिए हुन्थ्यो भन्नेमा चाहिँ हुन्छु’ अध्यक्ष थापा भन्छन्, ‘तर, एउटा कुरा चाहिँ के हो भने, म अर्जेन्टिनाको पक्षमा कहिल्यै पनि हुन्न । सेमिफाइनल वा फाइनलमै पनि अर्जेन्टिना कुनै देशसँग खेल्दैछ भने म अर्जेन्टिनाको समर्थन गर्दिनँ, विपक्षी टिमको समर्थन गर्छु ।’

उनलाई अर्जेन्टिनाको नेपालप्रतिको ब्यवहार चित्त बुझेको छैन । वर्षौ पूरानो अन्तराष्ट्रिय राजनीतिको कारण आज पनि अर्जेन्टिनाको नेपालप्रतिको नजर उहीँ पूरानो भएकाले उनले अर्जेन्टिनालाई मन नपरेको खुलाए ।

फुटबल भन्नासाथ उनलाई बाल्यकालको स्मृति ताजा बनेर आउँछ । थापा बाल्यकालमा खुब फुटबल खेल्थे अरे । उनका अनुसार घर नजिकै फुटबल खेल्ने चउर थियो । बाल्यकालमा साथीभाई जम्मा भएर हरेक दिन उनीहरु फुटबल खेल्थे । एकदिन बलले लागेर ढल्दा बेहोस् नै भएका रहेछन् ।
‘म त्यस्तै, १२÷१३ वर्ष जतिको थिएँ होला, म सधैँ फरवार्ड र डिफेन्समै खेल्थे, एकदिन चाहिँ किपर बसेँ’ पूरानो घटना सम्झदै थापा भन्छन्, ‘किपर बसेको बेलामा बल यस्तो गरी आयो की, कहाँ लाग्यो भन्ने थाहै पाइँन । म त ढलेछु, बेहोस् नै भइँहालेछु । साथीहरु र आफन्तले हतारहतार हस्पिटल लगेछन् । होस्मा आउँदा त म अस्पतालमा पो थिएँ ।’

यसैबीच, यसपाली नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पैसा तिर्नुपर्ने भएको छ । नयाँ छुट्टै च्यानलबाट ‘एक्सक्लुसीभ लाइभ’ देखाउने भन्दै प्रति सेटअप बक्स ५ सय रुपैयाँ शुल्क लाग्ने भएको छ । पैसा लाग्न नहुने भन्दै अदालतमा मुद्दा परेपनि अदालतले पनि व्यवसाय भएकाले अतिरिक्त शुल्क लिने कुरा स्वभाविक भएको ब्याख्या गरिदिएको छ ।

यसबारे नाडाका अध्यक्ष ध्रुब थापा खासै नकारात्मक हुनु नपर्ने भएपनि सबैको पहुँचमा नपुग्ने गरी शुल्क तय हुनु अलि न्यायोचित भने देख्दैनन् ।

‘व्यवसाय हो, पैसा लाग्ने कुरा नराम्रो भएन तर अलि न्यायोचित चाहिँ हुनुपथ्र्यो’ थापा भन्छन्, ‘५ सय अलि उपयुक्र्त होइन, न्यून आए भएकाले पनि थोरै रकम तिरेर हेर्न पाउने अवस्था हुनुपर्थ्यो । यहाँ त एक महिनाको खेलबाट अर्बौ रकम उठाउने नियत देखियो । जबकी, लगानीको अधिकतम् २० प्रतिशत बढी नाफा राख्नु हुँदैन भन्ने हाम्रो उपभोक्ता ऐन छ । यहाँ त्यस्तो देखिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *