ब्राजिल मन पर्छ, तर नेयमारले अलि बढी नै एक्टिङ गर्छ: रामहरि खतिवडा

मध्यपूर्वमा रहेको कतारमा विश्वकप फुटबल चलिरहेको छ । विश्वकप जहाँ भए पनि विश्वका हरेक कुनामा रहेकाहरु यसबारे चासो राख्ने र खेलहरु प्रत्यक्ष हेर्ने गर्दछन् । विश्वकपको अवसर पारेर बिजपाटी डटकमले ‘बिजपाटीसँग विश्वकपका कुरा’ नामक स्तम्भ सुरु गरेको छ ।

‘बिजपाटीसँग विश्वकपका कुरा’ स्तम्भमा प्रस्तुत छ ओखलढुंगाबाट प्रत्यक्ष चुनाव जितेका कांग्रेस नेता रामहरि खतिवडासँगको कुरा । ओखलढुंगाबाट प्रत्यक्ष चुनाव जितेका कांग्रेस नेता रामहरि खतिवडा चुनावको रौनक सकिएसँगै विश्वकप नछुटाई हेर्ने योजनामा छन् । गत मङ्सिर ४ गते भएको निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारमाथि बिजय प्राप्त गरेका थिए ।


नेपालमा चुनाव भएकै दिनदेखि कतारमा विश्वकप शुरू भएको हो । मतगणना अवधिभर खतिवडा ओखलढुंगामै रहे । टिभीमै विश्वकप हेर्न त पाएनन्, मोबाइलबाट अपडेट लिइरहे ।

‘मलाई विश्वकप फूटबल हेर्न अति नै मन पर्छ,’ खतिवडाले बिजपाटीसँग भने, ‘म राजनीति मात्र गर्दिन । कला, संस्कृति, खेलप्रति मेरो उत्तिकै रुची छ ।’

उनले आफ्नो मनपर्ने टीम ब्राजिल रहेको बताए । तर खेलाडी नेयामारले अलि बढी नै एक्टिङ गरेको जस्तो उनलाई लाग्ने रहेछ ।

‘मेरो मनपर्ने टीम ब्राजिल हो, तर नेयामारले अलि बढी नै एक्टिङ गर्छ,’ खतिवडाले हाँस्दै भने, ‘मन परेको टीम भएकाले ब्राजिलले नै विश्वकप जित्नुपर्छ जस्तो लागेको छ । तर अहिले भर्खर शुरू भएको छ, पहिलो चरण सकिएपछि कसले जित्छ भन्ने अनुमान गर्न सकिएला ।’

उनले विश्वकपलाई नेपालमा भर्खरै सम्पन्न भएको चुनावसँग जोड्न खोजे । ‘चुनाव र विश्वकप उस्तै हो, नयाँ खेलाडीले गोल गरिरहेका छन्, पेनाल्टीमा पनि गोल हान्न नसक्ने नेता र खेलाडी दुवैले विचार गर्नुपर्छ,’ उनले भने ।

ब्राजिल मनपर्ने टीम भएपनि एसियाबाट जापानले राम्रो प्रदर्शन गरेकोमा खतिवडा खुसी छन् । ‘एसियाबाट जापानले उत्कृष्ट प्रदर्शन गर्यो । त्यो पनि खुसी लागिरहेको छ,’ उनले भने, ‘शुरुमै अर्जेन्टिना जस्तो टीम साउदीसँग हार्नुपर्यो । त्यो पनि रोचक लाग्यो ।’

उनले यो निर्वाचनमा अपेक्षित मतदान नहुनुमा विश्वकप पनि एउटा कारण रहेको हुनसक्ने आशंका व्यक्त गरे ।

‘यो संसारको ध्यान विश्वकपतिर भइरहेको बेलामा नेपालको ध्यान चुनावतिर गयो । त्यसैको परिणाम पनि हुनसक्छ, नेपालीहरूको खेलतिर इन्ट्रेस्ट गयो र मतदान पनि कम भयो,’ उनले भने, ‘खेलले पनि एउटा नयाँ कुरा सिकाउँछ । नयाँ नयाँ खेलाडी आएर गोल हान्न सकेका छन् । पुराना खेलाडीहरू बिस्थापित भइरहेका छन् । पेनाल्टी पनि हान्न नसक्ने खेलाडीहरूले बिचार गर्नुपर्ने हुन्छ । नयाँलाई अवसर दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *