कतार विश्वकपमा आफुलाई लिएर लियोनल मेस्सीले गरे ‘फुटबल करियर’ कै ठुलो घोषणा

आर्जेन्टिनी फुटबल स्टार लिओनेल मेस्सीले नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल आफ्नो लागि ‘निश्चित रूपमा’ अन्तिम हुने बताएका छन्। प्यारिस साँ-जेर्माँका पैँतीस वर्षीय फरवार्डले आर्जेन्टिनाको तर्फबाट चार पटक विश्वकप खेलेका छन्।

सो क्रममा १९ खेलमा उनले छवटा गोल गरेको र थप पाँच गोलका लागि सघाएका छन्।  सन् २०१४ मा आर्जेन्टिनालाई उनले उपविजेताको उपाधि दिलाए भने आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाए।

‘अन्तिम विश्वकप’

मेस्सीले अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ।

“निश्चित रूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ,” उनले भने।

ईएसपीएनसँग कुरा गर्दै मेस्सीले थपेः मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु। एकसाथ चिन्ता र हडबडाहट छ।

सन् २००५ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका मेस्सीले आर्जेन्टिनाका लागि कुल १६४ खेलमा ९० गोल गरेका छन्।

फिफाको वरीयता क्रममा आर्जेन्टिना तेस्रो स्थानमा रहेको छ। नोभेम्बर २० तारिखबाट शुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सीमा आर्जेन्टिनाको भेट साउदी अरब मेक्सिको र पोल्यान्डसँग हुने छ।

“विश्वकपमा जे पनि हुनसक्छ। सबै प्रतिस्पर्धा कठिन हुन्छन्। लोकप्रिय टोलीहरूले सधैँ जित नै निकाल्छन् भन्ने हुँदैन,” मेस्सीले भने।

“मलाई थाहा छैन कि हामी लोकप्रियमा पर्छौँ वा पर्दैनौँ, तर आफ्नो इतिहासका कारण आर्जेन्टिना सधैँ एउटा दावेदारको रूपमा रहिआएको छ।”

“अहिले पनि हामी दावेदार हौँ, तर हामी सबैभन्दा लोकप्रिय होइनौँ। मेरो विचारमा हामीभन्दा अरू राम्रा टोली छन्,” मेस्सीले थपे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *